Friday, February 3, 2017

शिक्षकको यातनाले विद्यार्थी अस्पताल भर्ना

भुवनपोखरी अन्लाईन ), पाल्पाको भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएकी एक विद्यार्थी चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना भएको परिवारले आरोप लगाएका छन्। मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भन्दै कक्षा ६ मा अध्ययनरत बाह्र वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस भएको परिवारले दावी गरेका छन्।
विद्यालयमा हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ। रुचालले भनिन्,
‘कुखुरा बनेर बेन्चमा बस्न थाल्दा रिङ्गटा लागेर बेहोस भएँ।’ रुचालका काका सुमित रुचालका अनुसार शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या देखिएको थिएन। रुचाल घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन।

शिक्षकले सजाय दिएपछि बेहोस् भएकी रुचाललाई उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनको मृगौलामा समस्या देखिएकोले काठमाडौं त्रिवि शिक्षण अस्पतालमा लैजानुपर्ने सुझाव दिएको छ। शिक्षक बास्तोलासहित विद्यालयले सजायका कारण नभइ मृगौलाको समस्याका कारण बेहोस भएको दावी गरेका छन्।
जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले यस विषयमा कुनै लिखित उजुरी नआएको बताइन्। ‘हामीले यस विषयमा सम्बन्धित शिक्षक र प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेेका थियौं’ उनल भनिन् ‘बालिकाको स्वास्थ्यमा पहिल्यै समस्या भएकोले बेहोस् भएका जवाफ प्राप्त भएको छ।’ जिशिअ रेग्मीले बालिकाका परिवारलाई लिखित रुपमा निवेदन दिन सुझाव दिएको बताइन्। ‘लिखित निवेदन दिनुस् सत्य तथ्य छानबिन गछौं भनेका हौं’ उनले भनिन् ‘अहिले बच्चाको अवस्था सामान्य भएको मौखिक जानकारी आएको छ।’
आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ। अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजकुमार पन्थीले यस विषयमा विद्यार्थी संगठनहरुसँग छलफल गरेर छानबिन प्रक्रिया अगाडि बढाउने भनिएको भए पनि यस विषयमा थप कुनै प्रक्रिया अगाडि नबढेको बताए। ‘हामीसँग छलफल गर्ने भनिएको थियो’ उनले भने ‘तर शिक्षाबाट अहिलेसम्म कुनै खबर आएको छैन।’
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले यस विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाही गराउन पहल गर्ने बताए। ‘विद्यार्थीलाई शारीरिक यातना दिनु गलत कार्य हो’ उनले भने ‘यस विषयमा वास्तविकता के हो भन्ने बुझेर अगाडि बढ्छौं।’ जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीले यस विषयमा औपचारिक रुपमा कुरा आएमा अघि बढ्न सकिने बताए। ‘औपचारिक रुपमा कुरा आओस्’ उनले भने ‘हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं।’

No comments: