Saturday, July 22, 2017

माओवादी फेरि पुरानै बाटोमा फर्कने, पारित भयो यस्तो लाइन

पाल्पा साउन– नेकपा माओवादी केन्द्रले मुलुकको स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने निस्कर्ष निकालेको छ ।
स्थानीय तहको निर्वाचन समीक्षा र आगामी निर्वाचनको रणनीति तय गर्न बसेको जिल्ला इन्चार्जसहित सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने निस्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि जनतामा एजेण्डा लिएर जाने प्रस्ताव बैठकमा राखेका थिए । ‘नेपालको राजनीतिक स्थायित्व, विकास र समृतिका लागि प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्छ भन्ने निस्कर्षमा हामी पुगेका छौं’, प्रवक्ता भुसालले भनिन् ।

माओवादीले पहिलो र दोश्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा उठाएको थियो । संविधान निर्माणका क्रममा प्रत्यक्ष राष्ट्रपतिको अडानबाट पछि हटेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको नारा दियो । तर, काँग्रेस र पहिला प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डामा रहेका एमालेसमत तयार नभएपछि माओवादी अन्तिम समयमा आएर संसदबाट निर्वाचित प्रधानमन्त्री हुने पुरानै व्यवस्थामा सहमत भएको थियो ।
बैठकले स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा भएका अन्तर्घात छानबिनका लागि समितिसमेत गठन गरेको छ । तीन सदस्यीय समितिलाई अध्ययन गरी आगामी १६ भदौभित्र प्रतिवेदन दिन भनिएको प्रवक्ता भुसालले बताइन् ।

No comments: