काठमाण्डु, २३ माघ–प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख डिआईजी नवराज सिलवालले प्रहरी इतिहासमै साहसिक र प्रशंसनीय काम गरेका छन् ।
सिलवालकै अनुसन्धानबाट सुन तस्करीमा संलग्नता पुष्टि भएपछि एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परेका हुन् । सिलवालको ठाडो निर्देशनमा सिआईबीका नायब उपरीक्षक प्रवीण पोखरेलको टोलीले खत्रीलाई मुख्यालयस्थित कार्यकक्षबाटै पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो ।
यसअघि विमानस्थल सुरक्षा प्रमुख रहेका खत्रीलाई ३४ केजी सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा मुख्यालय तानेर जगेडामा राखिएको थियो । सिलवालले आफूभन्दा एकतह मुनिका प्रहरी उच्च अधिकारीलाई पक्राउ गरेर साहसिक काम गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलेका छन् । प्रहरी मुख्यालयबाटै एसएसपी स्तरका प्रहरी अधिकारी पक्राउ परेको यो पहिलोपटक हो ।
स्रोतका अनुसार एसएसपी खत्रीको सुन नस्करहरुसँग टेलिफोनमा बाक्लो कुराकानी हुने गरेको खुलेको छ । उनले तस्करहरुसँग डिल गर्न विभिन्न व्यक्तिका नाममा फरक–फरक नम्बर बोक्ने गरेको समेत खुलासा भएको छ । यस्तै सुन तस्करीमा प्रयोग भएर पक्राउ परेका भरियासँगसमेत उनको टेलिफोन कुराकानी भएको अनुसन्धानबाट खुलेको सिआईबी उच्च स्रोतले बतायो ।
प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा हतकडी
स्रोतका अनुसार भावी प्रहरी महानिरीक्षकको दौडमा रहेका डिआईजी सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सहमतिमै खत्रीलाई पक्राउ गरेका हुन् ।
प्रधानमन्त्री र गृहमन्त्रीले ‘गो अहेड’ भनेपछि सिवलालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी दिएरै खत्रीको हातमा हतकडी लगाएको स्रोतले बतायो । एक नम्बरका डिआईजी सिलवाल व्यवसायिक र स्वच्छ छविका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
No comments:
Post a Comment