पाल्पा जिल्ला भाषा, कला र संस्कृतिमा निकै धनी मानिन्छ । यहाँको सांस्कृतिक विविधताको एउटा महत्वपूर्ण अङ्ग हो रैनादेवीको न्वागी पर्व । पश्चिममा पाल्पामा पर्ने भुवनपोखरी गाविस—९, गोखुङ्गामा अवस्थित रैनादेवीको मन्दिर पाल्पा, गुल्मी र अर्घाखाँचीलगायत यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो ।
पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको संगमस्थलको रूपमा रहेको यो मन्दिरको उत्तरमा गुल्मी जिल्लाको दांैघा गाविस, दक्षिणमा अर्घाखाँची जिल्लाको पणेना र खिदिम गाविस त्यस्तै पूर्वमा पाल्पा जिल्लाकै छहरा, सोमादी र सिद्घेश्वर गाविस पर्छन् ।
अधिकांस मगर समुदायको वाहुल्यता रहेको भुवनपोखरी गाविसमा ब्राह्मण, क्षेत्री, कुमाललगायत अल्पसङ्ख्यक दमाई, कामी, सार्की र चुँदाराहरूको बसोवास रहेको छ ।पाल्पा जिल्ला सदरमुकाम तानसेन देखि करिब ३८ किलोमिटरको दुरीमा अवस्थित रैनादेवी मन्दिर महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत समुद्री सतहदेखि करिब १,६०० मिटरको उचाइमा रहेको छ ।
मन्दिर क्षेत्र प्राचीन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एंव पुरातात्विक महत्वका हिसाबले जिल्लामै सम्पन्न मानिन्छ । नेपालकै प्रसिद्ध तीर्थस्थल भैरवस्थान मन्दिरको बाटो हुँदै यहाँ पुग्न सकिन्छ । गुल्मी जिल्लाको पवित्र तीर्थस्थल रुरु क्षेत्र, ऋष्य शृङ्गको तपोभूमि श्रृङ्गा, र गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि पुगनपुग पाँच घन्टाको पैदल यात्रापछि पनि यो क्षेत्रमा पुग्न सकिन्छ । अर्धाखाँची जिल्लाको ऐतिहासिक स्थल पाणेनि तपोभूमि र दुर्वासा भूमी यो मन्दिर क्षेत्रबाट करिब दुई घन्टाको दूरीमा रहेका छन् । चाँप, गुराँस, कटुस, सौर, काफल, श्रीखण्डलगायतका दुर्लभ एवं बहुमुल्य वनस्पतिको घना जङ्गलको बीच भागमा रहेको यस मन्दिरमा वर्षैभरि पुजापाठ गर्ने र पशुपंक्षीको बली चडाउने गरिन्छ । दशैंको नवदुर्गाभर र न्वागी पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ ।
यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुने गर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको छ । यस अवसरमा राष्ट्रियस्तरका कलाकारहरूको विशेष प्रस्तुति रहँदै आएको छ । यस वर्षको न्वागी महोत्सव मङ्सिर ०६ गते परेको थियो । सो अवसरमा रैनादेवी मन्दिर संरक्षण समिति तथा रैनादेवी बाल क्लब भुवनपोखरी पाल्पाको आयोजना एवं हेप्पी ईन्टरटेन्म०ट प्रा.लि. को प्रस्तुतिमा यस वर्ष पनि महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा राष्टिय तथा स्थानिय कलाकारहरुको बिाशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा पाल्पाको भुवनपोखरी, छिमेकी गाबिसका साथै गुल्मि र अर्घाखाचिबाट समेत मानिसहरु रैनादबी मन्दिरमा उपस्थिित भएका थिए ।
No comments:
Post a Comment