कावासोती, १६ कात्तिक– पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको देवचुली—१४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही ठाउँमा २४ वर्षीय ज्ञानबहादुर थापालाई गम्भीर चोट लागेर उपचारका लागि चितवनको भरतपुर लगिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
त्यस्तै गैँडाकोट नगरपालिकाको बेल्डिया पुलमा बा४८प ४७७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा देवचुली—४ का जङ्गबहादुर थापामगर र सोही ठाउँमा रमेश भुसाल गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
देवचुली नगरपालिकाको हमाल चोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । ना४२प २६३६ को स्कुटरले साइकल यात्रीलाई ठक्कर दिँदा स्कुटरमा सवार कावासोती ८ का २३ वर्षका प्रदिप भण्डारी र विकास शर्मा तथा साइकल यात्री घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मोरङमा दुई किशोरको हत्या
मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।
राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए ।
घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस
No comments:
Post a Comment