भुवन पोखरी समाचार – सुन्दरबजार–७ स्थित कुमालटारका बिक्रम कुमालले एसएलसी पास गरेपछि सुन्दरबजारकै फिल्महल चोकमा बिजुली पसल खोल्नुभयो । १० वर्षसम्म पसल पनि चलाउनुभयो । तर पसलबाट खासै आम्दानी हुन सकेन । बिहे भएपछि झनै आर्थिक भार थपियो । आम्दानीको कुनै बाटो थिएन । गुजारा चलाउन सकस भयो । त्यसपछि, उहाँले पैसा कमाउन कतार जाने भन्दै २०६३ सालमा पासपोर्ट बनाउनुभयो । विदेश गई मनग्य कमाउने सुन्दर सपना बुनेका कुमालको सोच एकाएक परिवर्तन भयो । कुमालले विदेश नगई बाउबाजेले नै रोजेको बंगुर पालन व्यवसाय अँगाल्ने निर्णय गर्नुभयो ।
‘कतार जान पासपोर्ट बनाएँ पनि, तर विदेश भने गइएनʼ, बिक्रमले बंगुरको खोर सफा गर्दै भन्नुभयो, ‘बाउबाजेले दसैँतिहारका लागि निर्वाहमुखी ढंगले बंगुर पाल्ने गर्थे । तर मैले त्यही बाटो समाएर व्यावसायिक रुपमा बंगुर पाल्न सुरु गरेँ ।ʼ
विदेश जाने बाटो बंगुरले छेक्यो
बिक्रमलाई यो व्यवसायमा प्रवेश गराउन श्रीमती सुनिताको ठूलो हात छ । कृषि सम्बन्धी विभिन्न तालिम÷गोष्ठीमा सहभागी भएकी सुनिताले विदेश जानै लागेका श्रीमानलाई घरमै बसेर बंगुर पालेर पनि कमाउन सकिने सम्भावना सुनाउनुभयो, व्यवसायमा लाग्न उक्साउनुभयो । बिक्रमले पनि सुनिताको कुरा नकार्नु भएन । दुवैको सहमतिमा उहाँहरुले आफ्नै ३ रोपनी जग्गामा ८ लाखको लगानीमा व्यावसायिक बंगुरपालन सुरु गर्नुभयो । ‘श्रीमतीको सल्लाहमै घरमै बसेर बंगुर पालन गरियो, विदेश जाने बाटो बंगुरले नै छेकिदियोʼ, ३३ वर्षे बिक्रमले हाँस्दै भन्नुभयो ।
पाठापाठी बेच्दा फाइदा
कुमाल दम्पत्तिको बंगुर फार्म बजार नजिकै छ । त्यसैले पनि फार्मबाट उत्पादित मासु र पाठापाठी बिक्रीमा कुनै समस्या छैन । बंगुर पालेको केही समयममा नै उहाँहरुले फाइदा लिइसक्नुभएको छ । ‘बंगुरपालन व्यवसायबाट वार्षिक लाखौं आम्दानी भएको छʼ, फार्मको आडैमा बंगुरका लागि कुँडो पकाउँदै गरकी सुनिताले भन्नुभयो । फार्ममा अहिले सानाठूला गरी ४० वटा बंगुर छन् । तीमध्ये केही बिक्रीका लागि तयार छन् । फार्मममा ड्युरो, ल्याण्ड्रेस र हेमसागर जातका बंगुर छन् ।
‘बंगुर पाल्न साह्रै दुःख छ, बजारको अभाव छैन तर मासुको राम्रो मूल्य नपाइनेʼ, सुनिताले भन्नुभयो । उहाँका अनुसार मासुमा भन्दा बंगुरको पाठापाठी बेच्दा तुलनात्मक रुपमा बढी फाइदा हुन्छ ।
‘३५ देखि ४५ दिनसम्मका पाठापाठी पाल्नका लागि उपयुक्त हुन्छ, प्रति पाठाको मूल्य ६ हजार ५ सय पर्छ, मासुमा भन्दा यसमै फाइदा छʼ, बिक्रमले थप्नुभयो । सुन्दरबजार, हर्राबोट, परेवाडाँडा लगायत गोर्खाका केही ठाउँबाट बंगुरको पाठा खोज्दै ग्राहकहरु फार्ममै आइपुग्छन् ।
पैसाको हर्जो पर्दैन
व्यवसाय सुरु गर्नुभन्दा अगाडि दुईचार पैसाको लागि पनि साहुको हात थाप्नुपर्ने बाध्यता थियो कुमाल दम्पत्तिलाई । व्यवसाय सुरु गरेपछि दुईचार पैसाको खाँचो नभएको उनीहरु बताउँछन् ।
‘अहिले दुईचार पैसाको खाँचो छैन, स्वदेशको कमाईले जीवन चलाउन सजिलो भएको छʼ, सुनिताले भन्नुभयो, ‘परिवारकै काखापोल्टोमै बसेर दुवैजना यो व्यवसायमा रम्न पाउँदा खुसी छौँ । यसलाई नै निरन्तरता दिने सोच छ ।ʼ
जाँगर, सीप भए देशकै माटोमा मनग्य कमाउन सकिने सम्भावना छ । कुमाल दम्पत्तिले भने ‘मनमा हुनुपर्छ जोस÷जाँगर, गाउँमै मिल्छ रोजगार ।ʼ
Wednesday, November 2, 2016
बंगुरले छेक्यो विदेश जाने बाटो आखिरी किन ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment