Monday, September 26, 2016

पाल्पामा विमानस्थल बनाउने तयारी

पाल्पामा विमानस्थल बनाउने तयारी
पाल्पा पाल्पामा निकट भविष्यमै विमानस्थल बन्ने भएको छ। विमानस्थल कहाँ बन्ने भन्ने निश्चित भने भइसकेको छैन। कहाँ विमानस्थल बनाउँदा उपयुक्त हुन्छ भन्ने बारेमा प्राविधिक टोलीले अध्ययनपछि निश्चित गर्नेछ। यसका लागि तत्कालै प्राविधिक टोली परिचालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताएका हुन्। पाल्पाली संगमद्वारा शनिबार भृकुटीमण्डपमा आयोजित
‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै पर्यटनमन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको निम्ति विमानस्थलको आवश्यकता औँल्याउँदै त्यसको निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

पाल्पामा यसअघि पनि विमानस्थल बनाउने विषयमा कुरा चले पनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन। दुई वर्षअघि जिल्लाको रामपुर क्षेत्रमा प्राविधिकहरुको टोलीले विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो। पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरहरु प्रवेश अधिकारी, रामहरि महर्जन लगायतको टोलीले अध्ययन गरेर केन्द्रमा प्रतिवेदन बुझाएको थियो। तत्कालीन समयमा सम्भाव्यता र स्थानीय आवश्यकताको पहिचान गरी अर्को चरणको विस्तृत अध्ययन गर्ने बताइएको थियो। त्यसको दुई वर्षपछि अहिल पर्यटनमन्त्री शाहीले यसबारेमा महत्वका साथ प्रतिबद्धता जनाएका हुन्।
यसअघि पाल्पा महोत्सव आयोजना हुँदा तत्कालीन पर्यटनमन्त्री रहेका लोकेन्द्रबहादुर बिष्ट मगरले पाल्पामा पर्यटन प्रवर्द्धनका लागि विमानस्थल निर्माणका लागि जोड दिएका थिए। त्यसपछि पाल्पाका राजनैतिक दल, उद्योग बाणिज्य संघको टोली काठमाडौंमा डेलिगेशन गएपछि केन्द्रले अध्ययनका लागि टोली पठाएको थियो। उतिबेला पाल्पाबाट गएको टोलीसंगै पूर्वमन्त्री बिष्ट समेत मन्त्रालय, विभाग र भेटघाटमा सहभागी थिए। पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पामा हवाई मैदान निर्माण भयो भने जिल्लाको समग्र विकासका लागि निकै मद्दत पुग्ने बताए।
पाल्पाका विमानस्थल निर्माणका लागि यसअघि पनि पटक पटक सम्भाव्यता अध्ययन भने भएका छन्। तर,
पटक पटकको अध्ययनपछि पनि प्रक्रिया अगाडि बढ्न भने सकेको छैन। यसपटक राजधानीमै भएको पाल्पालीको कार्यक्रममा मन्त्री शाहीले यसबारे सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुलाई महत्वका साथ हेरिएको छ। पाल्पाली संगमको कार्यक्रममा पाल्पा जिल्लाबाट निर्वाचित सांसद हरिप्रसाद नेपाल,
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र योजना आयोगका पूर्वउपाध्यक्ष मोहनमान सैंजूसमेत सहभागी थिए। केन्द्रमा प्रभाव भएका पाल्पालीहरुसमेत सहभागी भएको कार्यक्रममा विमानस्थलको विषयले महत्व पाएपछि अहिले भने विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।
पाल्पा महोत्सवमा सहभागी राजधानीवासी पाल्पालीहरुले जिल्लाको पर्यटन विकासको लागि विभिन्न योजनाहरु बनाउनेसमेत बताए। उनीहरुले पाल्पा पर्यटकीय हिसाबले सम्भावना भएको जिल्ला भए पनि पर्याप्त विकास हुन नसकेको बताए। सो महोत्सवमा पाल्पाली खानाका परिकार, ढाका कपडा तथा करुवा,
पर्यटकीय स्थलको तस्बिर र स्थानीय उत्पादनको प्रदर्शनीका निम्ति करिब ५० स्टल राखिएको थियो। महोत्सवमा पाल्पाली कलाकारहरु बद्री पंगेनी, इन्द्र जिसी, दुर्गा रायमाझी, शिरीष देवकोटा, प्रेम गैरे र हुम गैरेलगायतका कलाकारले सांगीतिक प्रस्तुति गरेका छन्।
पाल्पाली उत्पादन, पर्यटन र संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले काठमाडौको भृकुटी मण्डपमा एक दिने पाल्ला महोत्सव सञ्चालन गरिएको हो। कार्यक्रममा पाल्पाली सांसद,
विभिन्न राजनीतिक दलका नेता,
उद्यमी लगायत कलाकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो। उनीहरुले पाल्पालाई आकर्षक र प्रमुख गन्तब्यको रुपमा स्थापित गर्न सके पाल्पालीको जीवनस्तर नै सुधार हुने बताएका थिए। प्राकृतिक सांस्कृतिक लगायतका हरेक क्षेत्रमा पाल्पामा प्रचुर सम्भावना रहेकाले त्यसको सही सदुपयोग र संुरक्षा गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए।

No comments: