Sunday, January 29, 2017

झुक्याएर भारत लैजान लागिएकी पाल्पाली किशोरीको उद्धार

भुवनपोखरी अन्लाईन , नक्कली परिचय र नाता बनाइ झुक्याएर भारत लैजान लागिएकी पाल्पाली किशोरीको उद्धार गरिएको छ। कपिलवस्तुको कृष्णनगर नाकाबाट भारत लैजान लाग्दै गर्दा ती किशोरीको उद्धार गरिएको हो। उनलाई अर्का व्यक्तिले किर्ते नाता बनाइ आफू उनको बाबु बनेर भारत लैजान लागेका थिए।
कृष्णनगर नाकाबाट भारत जान लाग्दा शंका लागि सीमा प्रहरी र केआइ नामक गैर सरकारी संस्थाले चेकजाँच गर्दा नाता नक्कली भएको तथ्य खुलेको थियो। नक्कली बाबुसँग भारत हिँडेकी एक किशोरीलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको हो। उद्धार गरिएकी किशोरी पाल्पा दोभानकी रहेको प्रहरीले बताएको छ।
संवेदनशीलताका कारण उनको थप परिचय खुलाइएको छैन।
कृष्णनगर प्रहरी र मानव अधिकारको क्षेत्रमा कार्यरत के.आई. नेपालको संयुक्त टोलीले किर्ते बाबुसहित किशोरीलाई उद्धार गरेको हो। प्रहरीका अनुसार किशोरी भारतको पञ्जाब जान लागेकी थिइन्। किशोरीसँगै बाबु नाता बताउने पूर्णबहादुर दर्जी थिए। सीमाक्षेत्रमा भारत प्रवेशमा रोक लगाएपछि सोधपुछका क्रममा दर्जीले बाबु–छोरीको नाता रहेको बयान दिएको केआई संयोजक केशर विश्वकर्माले जानकारी दिए। छोरीलाई कृष्णनगरसम्म छोड्न आएको दर्जीले बताएका थिए।
किशोरीको नागरिकतामा बाबुको नाम भने हरिबहादुर दर्जी भएको प्रहरीको भनाइ छ। शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि किर्ते बाबुछोरीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पाल्पा पठाएको छ। किशोरीको बाबु हरिबहादुर दर्जीसँग सम्पर्क हुन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिएका छन्। रिजालका अनुसार नागरिकता पाल्पामा जारी भएको हँुदा थप अनुसन्धान गर्न पठाएको हो।
किशोरी र उनलाई भारत लैजान खोजेका पूर्णबहादुरलाई जिल्ला प्रहरी कार्यालयमै राखी थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिएका छन्। किशोरी प्रहरीकै संरक्षणमा रहेको उनले जानकारी दिए। संवेदनशीलताका कारण यस विषयमा थप जानकारी दिन नसकिने उनले बताए। ‘अनुसन्धानको लागि हामीकहाँ पठाइएको हो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ‘अनुसन्धान पूरा नभइ यस विषयमा थप बोल्न मिल्दैन।’
यसैबीच केआई नेपालले नेपाल प्रहरीको सहयोगमा गत सातामात्र पाँच जना किशोरीको उद्धार गरेको छ। परिवारलाई जानकारी नदिई भारतको दिल्लीतर्फ हिँडेका दाङका २, कैलाली, कपिलबस्तु र मोरङका गरी पाँच किशोरीको उद्धार गरी अभिभावकको जिम्मा लगाएको संयोजक विश्वकर्माले जानकारी दिए।

No comments: