, पाल्पा ज्यामिरेस्थित लाभेदीकी दीपा आलेले कक्षा ५ मा पढ्दै गर्दा बिहे गरिन्। मुस्किलले १५ वर्ष पुगेकी उनको कक्षा १० मा अध्ययन गर्ने युवासँग बिहे भयो। नजिकैको गाउँ लाभेटारमा बिहे गरेकी उनले टाढाको विद्यालय पढ्न जान नसकेपछि बिहेलाई रोजेको बताइन्। ‘स्कुल पढ्न जान धेरै टाढा छ,’
उनले भनिन्, ‘अनि माया बस्यो घरजम गरियो।’ नजिकमा विद्यालय नहुँदा उमेर पुगिसकेपछि उनी भर्ना भएकी हुन्। आफ्नो उमेर ढल्कँदै जाँदा विद्यालय जान लाज लागेपछि उनले बिहे रोजेकी हुन्।
आले मात्र होइन, सोही गाउँकै कक्षा ४ मा अध्ययन गर्दै गरेकी शर्मिला रखालको पनि अवस्था उस्तै छ। उनले १४ वर्ष नपुग्दै बिहे रोजेकी हुन्। साथीसंगतको लहैलहैमा र विद्यालय जान टाढा भएपछि पढ्नुभन्दा बिहे गर्न राम्रो ठानिन्। भन्छिन्, ‘साथीहरूले पनि सानोमै बिहे गरे। अनि मैले पनि छिट्टै बिहे गरेको हो।’ उता कक्षा ७ मा पढ्ने ज्यामिरे पिपयाङीकी रसना ठाडाको पनि १५ वर्ष नुपुग्दै बिहे भयो। उनीहरू बिहेपछि पढाइलाई बिट मारेका छन्। ‘पढ्न जान टाढा हुन्छ,’
ठाडाले भनिन्, ‘अनि के गर्नु? बिहेलाई रोजियो।’
उनीहरूले सानो उमेरमै बिहे रोजे। ज्यामिरेका स्थानीय अर्जुन ठाडाका अनुसार यहाँका अधिकांश किशोरीको कक्षा ८ नपुग्दै विवाह हुन्छ। ‘सानो हुँदा विद्यालय जान सक्दैनन्,’ उनले भने, ‘त्यसपछि ठूलो भएर टाढा हिँड्नु पर्दा लाज मान्छन्। अनि बिहेलाई रोज्छन्।’ जिल्लाको ज्यामिरे, मित्याल, बहादुरपुर, रहवास गाविसमा सानो उमेरमै विवाह गर्ने प्रचलन कायमै छ। भौगोलिक कारणले पढाइलाई अघि बढाउन समस्या भएकाले पनि किशोरीले छिट्टै बिहे गर्ने गरेका हुन्।
ज्यामिरेको रोल्लावास, बेभोके,
मुढावास, पिपयाङी, झर्ल्याङी,
मलग्राम, लाभेदी, लाभेटार लगायत गाउँका सयभन्दा बढी विद्यार्थीलाई निमावि तह पढ्नै समस्या छ। किशोरीले विद्यालय टाढा जानुपर्ने भएपछि बिहेलाई रोज्ने गरेका हुन्। कक्षा ६ मा भर्ना हुने ससाना बालबालिका नै दैनिक ४ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्छ। ती विद्यार्थी कक्षा १० मा पुग्दा ८० प्रतिशत विद्यालय जानै छाड्छन्। स्थानीय हुमबहादुर सारुका अनुसार ८ वर्ष नपुगी विद्यालय भर्ना हुन जान सक्दैनन्। ‘ठूलो भएर विद्यालय भर्ना हुन्छन्, पढ्न जान लाज मान्छन्,’ उनले भने, ‘त्यसपछि आफूलाई उमेर ढल्केजस्तो मान्छन् र पढ्न छाड्छन्।’
कक्षा ६ र ७ मा पढ्ने किशोरी बढी बिहे गर्छन्। कक्षा ५ सम्म नजिकै विद्यालय भए पनि त्यसपछि टाढा हिँड्नुपर्छ। निमावि तहमै पुग्दा १५/१६ वर्ष पुग्ने भएकाले लाजले विद्यालय जान नमान्ने समस्या छ। दैनिक चार/पाँच घण्टा पैदल हिँड्नुपर्दा पनि समस्यै हुने कक्षा ९ पढ्दै गरेकी तिलमाया सारुले बताइन्। उनका अनुसार डेरा गरेर पढे मात्र पढाइ अघि बढ्छ। ‘होइन भने सानोमै बिहे गर्ने धेरै हुन्छन्,’ उनले भनिन्, ‘त्यसका लागि चेतना पनि आवश्यकता छ।’
ज्यामिरेको जनप्रिय मावि छहजार बतासामा कक्षा ९ नखुल्दै यस भेगका विद्यार्थीले कक्षा ८ पढेपछि छाड्न बाध्य थिए। ज्यामिरेका वेभोके र रोल्लावासबाट अहिले पनि आउन निकै टाढा छ। ज्यामिरे गाविसको रोल्लावासका ८० र वेभोकेका ६४ घरपरिवारका बालबालिका कक्षा ८ पछि डेरा नगरी सुखै छैन। उनीहरू बेसीको पाई (अरुणखोला) बस्ने र त्यहीबाट पढ्न हिँड्ने गर्नुपर्ने बाध्यता छ। कतिपयले दिपेन्द्र उच्च मावि सर्दी पढ्न डेरा गरेर बस्छन्।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर पल्लीले माथिल्लो कक्षा पढ्दै जाँदा उमेर ढल्केजस्तो मानेर किशोरीले बिहे रोज्ने बताए। ‘छिटो विवाह गर्नु हुँदैन भनेर विद्यालयमा सम्झाउने गरिन्छ,’ उनले भने, ‘तर,
अधिकांशले विद्यालय आउजाउ गर्न समस्या भएर पनि विवाह गर्छन्।’
किशोरी अवस्थामै बिहे गर्ने र बच्चा जन्माउने समस्या बढी देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए। उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी,
प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतामा सुत्केरी हुन आउनेको संख्यालाई विश्लेषण गर्दा यस्तो देखिएको छ। ‘सानो उमेरमा बच्चा जन्माउने र लाजले स्वास्थ्य संस्थामा नआउनेको तथ्यांक छैन,’ उनले भने। सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा यस्तो समस्या बढी छ। कानुनी प्रावधान भने किशोरीको विवाह गर्न अभिभावकको सहमतिमा दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्छ।
जिल्लाका सत्यवती, बल्ढेङ्ढी,
जुठापौवा, ज्यामिरे, बहादुरपुर,
मित्याल लगायतका गाउँमा बालविवाहको बढी समस्या छ। यहाँ १६ वर्ष नपुग्दै गर्भवती हुने किशोरी धरै छन्। १६ वर्ष पुग्दा नपुग्दै पहिलो र दोस्रो बच्चा जन्माउने प्रचलन नै छ। महिला तथा बालबालिका कार्यालय प्रमुख तुलसा अर्यालले गाउँमा भएका कार्यक्रममा सानो उमेरमा विवाह नगर्न सुझाव दिने गरेको बताइन्। ज्यामिरेमा उमेर नपुग्दै ८० प्रतिशत बढी किशोरीले बिहे गरेको अनुमान गाविसको छ। तर, गाविसमा विवाह दर्ता गर्न भने उमेर पुगिसकेपछि बालबालिका काखमा लिएर आउँछन्। कतिपयले विवाह दर्ता नै नगराउने समस्या भएको गाविस सहायक हुमबहादुर सारुले बताए।
२०६८ को जनगणना अनुसार १५ देखि १९ वर्ष उमेरभित्र जिल्लाका ५१ प्रतिशत किशोरकिशोरीको विवाह हुने गरेको तथ्यांक छ। जसमा ३४ दशमलव ३३ प्रतिशत पुरुष र ६१ दशमलव १० प्रतिशत महिला छन्। जनगणनाअनुसार पाल्पा जिल्लामा १४ वर्षमुनिको उमेरमा पहिलो विवाह हुनेहरू १० दशमलव ७३ प्रतिशत छन्। पुरुष ३ दशमलव ४६ प्रतिशत र महिला १५ दशमलव १५ प्रतिशत रहेको छ। सानो उमेरमा विवाह गर्दा उनीहरूको प्रजनन अंगको पूर्ण विकास भएको हुँदैन।
‘गर्भ रहेको बच्चा ठूलो नभई तौल कम हुनु,
महिलाको स्वास्थ्यमै हानि पुर्याउनु,
बच्चा जन्माउन समस्या हुनु, पछि पाठेघर खस्ने समस्या आउन सक्ने,
पेटभित्रै बच्चा राम्रोसँग हुर्कन नसकेर तौल कम भएको बच्चा जन्मनु, आमाको मृत्यु हुन सक्नेजस्ता बेफाइदा छ,’ डाक्टर झविन्द्र ढकालले भने। – कान्तिपुरबाट
No comments:
Post a Comment