Thursday, September 15, 2016

पाल्पा आम्दानी को स्रोत बन्ने भयो


रामपुर(पाल्पा): घरभित्रै काम धन्दामा सीमित रहेका यहाँका महिलाले हिजोआज तरकारीखेती गरेर आम्दानीका स्रोत बढाउँदै गएका छन् । घरायसी कामसँगै उनीहरुले लगाएको तरकारी खेतीवाट प्राप्त आम्दानीले छोराछोरीको पढाइ खर्च तिर्न र घरव्यवहार चलाउन पाउँदा खुसी भएका छन् । कम लगानीमा छिटो आम्दानी लिन सकिने हुँदा हिजोआज व्यावसायिक तरकारी खेतीमा महिलाको आकर्षण बढ्दै गएको हो ।
पछिल्लो समयमा यो क्षेत्रमा व्यावसायिक तरकारी खेतीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढ्दो छ ।
तरकारी खेतीवाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रका महिलाले विदेशिएका श्रीमान्लाई समेत स्वदेश झिकाएर तरकारी खेतीमा लगाएका छन् । तरकारी बेचेर छोरीलाई उच्च शिक्षाका लागि सहर पठाउन पाउँदा खुसी हुदै स्थानीय मथुरा ढकालले भनिन्,’हामीले पढ्न नसक्दा सधैँ घाम पानीमा पसिना बगाउनु परेको दुःख आफ्ना छोराछोरीलाई व्योहोर्नु नपरुन भनेर तरकारी लगाएरै भए पनि छोराछोरीको पढ्ने इच्छालाई पूरा गर्नेछु ।’ चार रोपनी जग्गामा गरेको तरकारी खेतीवाट प्राप्त आम्दानीले घरखर्च कटाएर छोराछोरीको पढाइ खर्च समेत तिर्न पाउँदा उनी खुसी छिन् ।
कमला रेग्मीले तरकारीबाट राम्रो आम्दानी हुँदै गएपछि विदेशिएका श्रीमान्लाई झिकाएर तरकारीखेतीमा लगाउनुभएको छ । उनले विगत ६ वर्षदेखि पाँच रोपनी जग्गामा तरकारीखेती गर्दै आएकी हुन् । तरकारी बेचेर उनी दिनहुँ रु तीन हजार बराबरको आम्दानी गर्छिन् ।
कमाइ नहुँदा महिला भनेर हेप्ने समाजले अहिले तरकारीबाट राम्रो कमाइ हुन थालेपछि प्रशंसा गर्न समेत पछाडि पर्दैनन् । राम्रो आम्दनी हुने देखेपछि उनले अब १० रोपनी जग्गामा तरकारी लगाउने लक्ष्य लिएकी छिन् ।
घरको काम धन्दा, बालबच्चाको स्याहार सुसारसँगै घरमै बसेर व्यवसाय गर्न सकिने भएकाले यहाँ पुरुषको तुलनामा तरकारीखेतीमा महिलाको आकर्षण बढेको हो । भगवती देवकोटाले पनि विगत १० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएकी छन् ।
तरकारी लगाएर नै समाजमा नाम र दाम मिलेको उनी बताउन्छन् । छोराछोरीको पढाइ खर्च र घर व्यवहार चलाउन निकै कष्ट भोग्नुभएकी देवकोटालाई तकारीखेती सुरु गरेपछि पैसाको जोहो गर्न गाहे भएको छैन् । सात रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर उनी वर्षमा तीनदेखि चार लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।
छोराछोरीको भविष्यकै लागि भएपनि उनीहरुले तरकारीखेती, पशुपालन व्यवसाय गरेका छन् । रामपुरका महिलामा पुरुषले मात्रै व्यवसाय गर्नुपर्छ भने होइन, महिला आफैँ व्यवसायी बन्नुपर्छ भन्ने भावना जाग्रित भएको छ । यस क्षेत्रमा झन्डै ५० भन्दा बढी महिलाले व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएको कृषि सेवा केन्द्र रामपुरका प्रमुख नवराज घिमिरेले बताए

No comments: